(१) सभामुख र अध्यक्षको आवासमा जडान गरिएको बिजुली तथा धाराको पूरै महसुल र एउटा इन्टरनेट सहितका दुईवटा टेलिफोन लाइन जडान गर्न लाग्ने धरौटी तथा अन्य खर्च र टेलिफोनको जरिबाना बाहेकको पूरै महसुल नेपाल सरकारले व्यहोर्नेछ ।
(२) सभामुख र अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्यलाई सरकारी घर बन्दोबस्त भएकोमा त्यस्तो घरमा जडान गरिएको बिजुली, धारा, इन्टरनेट सहित टेलिफोनको महसुल र पत्रपत्रिका बापत अनुसूची–१ बमोजिमको एकमुष्ट रकम उपलब्ध गराइनेछ ।
(३) सभामुख र अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्यलाई सरकारी घर बन्दोबस्त हुन नसकेमा निज बसेको आवासमा इन्टरनेट सहित एउटा टेलिफोन लाइन जडान गर्न लाग्ने धरौटी तथा अन्य खर्च नेपाल सरकारले व्यहोर्नेछ र त्यस्तो आवासमा जडान गरिएको बिजुली, धारा र टेलिफोनको महसुल बापत उपदफा (२) बमोजिमको रकम उपलब्ध गराइनेछ ।
(४) पदाधिकारी वा सदस्यको आवास परिवर्तन गर्नु पर्दा टेलिफोन लाइन सार्न लाग्ने जडान खर्च संघीय संसदको एक कार्यावधिमा बढीमा दुई पटकको लागि नेपाल सरकारले व्यहोर्नेछ ।
(५) यस दफा बमोजिम टेलिफोन पाउने पदाधिकारी वा सदस्य अयोग्यताको कारणले बाहेक अन्य कुनै कारणले संघीय संसदको सदस्य कायम नरहेमा पनि सदस्यता कायम नरहेको मितिले छ महिना भित्र निजले चाहेमा उक्त टेलिफोन लाइन जडान गर्दा लागेको धरौटी रकम बुझाई सो टेलिफोन आफ्नो स्वामित्वमा राख्न सक्नेछ ।